सरकारलाई सांसदको प्रश्न : भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गरेको हो ?

सरकारलाई सांसदको प्रश्न : भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गरेको हो ?



काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमि गुन्जीको भ्रमणबारे सरकारको जवाफ माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैठकमा आकस्मिक समय लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेकोबारे प्रश्न गरेका हुन् । नेपालको संसदले पास गरेको नयाँ नक्सामा कुटी गुञ्जी समेत रहेको भन्दै उनले भने, ‘छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ ।’

यसबारे प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा त्यो भूभागमा नेपालीहरु जान नपाउने जवाफ पाएको उनले सुनाए । पूर्वमन्त्री समेत रहेका लामिछानेले भने, ‘आफ्नो भूमिमा छिमेकी राष्ट्रको सरकार प्रमुख आउँदा सरकारले स्वागत गर्नु पर्दैन ?’

उनले नेपाली भूमिमा भएको भारतीय प्रधानमन्त्रीको भ्रमणबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरे ।

त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद सूर्य थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमिमा आएकोबारे सरकारसँग जवाफ माग गरे ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै थापाले भारतीय प्रधानमन्त्री मोदीले नेपालको भूमिमा आएकोबारे सरकारसँग जवाफ मागेका हुन् ।

‘नेपाली भूमिभित्र छिमेकी देश भारतका प्रधानमन्त्री मोदीले भ्रमण गरेको सत्य हो होइन ?, ’ उनले प्रश्न गरे । सांसद थापाले भारतीय प्रधानमन्त्री मोदी नेपालको भूमिमा आएकोबारे सदन बेखबर बस्न नमिल्ने भन्दै सदनलाई जानकारी गराउन माग पनि गरे ।