एमसीसीकाे प्रसारण लाइनसम्बन्धी सबै ठेक्का रद्द

एमसीसीकाे प्रसारण लाइनसम्बन्धी सबै ठेक्का रद्द



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियाेजनाअन्तर्गत बन्ने प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे छ ।

एमसीए नेपालले आज शुक्रवार एक सूचना जारी गर्दै एमसीसी परियाेजनाअन्तर्गत बन्ने तीन वटा प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे जानकारी दिएकाे हाे । सबै बोलपत्रहरू अनुमानित लागतकाे तुलनामा धेरै बढी भएको कारणले ठेक्का रद्द गरिएकाे हाे । अब प्रसारण लाइन परियाेजनाको नयाँ ठेक्का खुलाउने छ ।

अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेकाे थियाे । एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो ।

प्रसारणलाइनको प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना, परीक्षण अन्तर्गतका सबै बोलपत्रहरू रद्द गरिएको सूचनामा उल्लेख छ ।