अर्थतन्त्रलाई लयमा फर्काउन अर्थमन्त्री डा. महतको दौडधुप

अर्थतन्त्रलाई लयमा फर्काउन अर्थमन्त्री डा. महतको दौडधुप



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विदेश आउने जाने गरिरहेका छन् भन्ने धेरैलाई लाग्दो हो, तर भूकम्प र कोरोनापछि थाङथिलो बनेको देशको अर्थतन्त्रलाई लयमा हिडाउँन अहोरात्र खटिएका छन् भन्ने कुरा चाहिँ प्रचारमा छैन । मन्त्री डा. महतले अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको प्राथमिकता र आवश्यकतालाई बलियो ढंगले प्रस्तुत गरिरहेका छन् । विदेशी दातृ निकाय लगायतका महत्वपूर्ण फोरमहरुमा भएका छलफलमा पनि उनले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने स्पष्ट पारेका छन् ।

यति मात्र होइन, डा. महत स्वदेशमै हुँदा पनि कार्यालयमा १३–१४ घण्टा निरन्तर खटिएर काम गर्ने मन्त्री हुन् । कर्मचारी संयन्त्रलाई अनुशासित र जिम्मेवारीपूर्ण ढंगले परिचालन गर्न र अन्तर मन्त्रालय समन्वय गरी सरकारको नीति कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गराउन मन्त्री डा. महत सक्रिय रहँदै आएका छन् । मन्त्री डा. महत निजी क्षेत्रको मनोबल बढाउन सरोकारवाला निकायहरुसँग सँधैं छलफल र अन्तरक्रियामा समय खर्चिन्छन् ।

उनको यही मिहेनतका कारण अहिले अर्थतन्त्र लयमा फर्किन थालेको आर्थिक सूचांकहरुले देखाउन थालेको छ । कर्जा प्रवाह बढ्दो छ, राजश्व अघिल्लो वर्षको तुलनामा वृद्धि भइरहेको छ । पर्यटकको आगमनले पर्यटन क्षेत्रमा उत्साह थपेको छ भने रेमिट्यान्स प्रवाह उल्लेख्य वृद्धि भएको छ ।

विभिन्न कारणले समस्यामा रहेको अर्थतन्त्रमा जादुको छडीले जस्तै तुरुन्तै सुधार ल्याउन कठिन छ । तर, पछिल्लो समय विस्तारै अर्थतन्त्रले लय समात्न थालिसकेको छ । अन्तर्राष्ट्रिय फोरममा मन्त्री डा. महतले नेपालको प्राथमिकता विश्वलाई बुझाउन सकेकै कारण जलविद्युतलगायत अन्य क्षेत्रमा वैदेशिक लगानी भित्रिने ठूलो सम्भावना बढेर गएको छ । यसैबाट स्पष्ट हुन्छ, थाङ्थिलो अर्थतन्त्र विस्तारै सम्हालिँदै लयमा आउँदैछ ।

वास्तवमा भन्ने हो भने पछिल्लो एक दशकयता नेपालको अर्थतन्त्र बुझ्ने, अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको प्राथमिकता र आवश्यकतालाई बलियो ढंगले प्रस्तुत गरेर बुझाउन सक्ने अर्थमन्त्री डा. महत मात्र भएको बुझाइ अर्थशास्त्रीहरुको छ ।

उनको क्षमतामा अहिलेसम्म कसैले औंला ठड्याउन सकेको छैन, आलोचनाका लागि आलोचना गर्नेहरुले तिललाई पहाड बनाएर प्रस्तुत भइरहेका छन् । तथ्य र तथ्यांक बंग्याएर अर्थमन्त्री डा. महतविरुद्ध जेहाद छेड्न एउटा गिरोह नै सक्रिय रहेको घामझै छर्लङ्ग छ । यद्यपि पहाड बनाउने तिल भेट्न पनि त्यो गिरोहलाई कठिन भइरहेको बुझ्न सजिलै सकिन्छ । मन्त्री महतले इमान्दारिपूर्वक देश र जनताका लागि केही गर्न खोज्दा गिरोह नै लागेर नकरात्मक भाष्य निर्माण गर्नु आफैमा हाँस्यास्पद होइन र ?

हालै मोरक्कोमा सम्पन्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को बैठकमा वर्षभरि कार्यसम्पादनमा देखिएका समस्या तथा हाँसिल भएका प्रगतिको समीक्षा गर्दै आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल गरेर अर्थमन्त्री फर्किएका छन् । संसारभरिका अर्थमन्त्रीहरु विश्व बैंकको गभर्नरको हैसियतमा डा. महतले साइडलाइनमा सहभागीबीच सामुहिक तथा द्विपक्षीय हितका विषयमा छलफल मात्र गरेनन् अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा नेपाललाई जोड्ने प्रयत्न पनि गरेका छन् ।

अरुण जलविद्युत आयोजनाका लागि १ खर्व ३० अर्वसम्म सहुलियतपूर्ण ऋण उपलव्ध गराउन विश्व बैंकलाई सकारात्मक बनाउनु, ३०० मिलियन अमेरिकी डलर अर्थात् ३९ अर्व रुपैयाँ बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालनको तयारी गर्न आईएमएफलाई सहमत गराउनु, अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए) को २१ औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा. महतले राखेको प्रस्तावमा विश्व बैंक सकारात्मक हुनुलाई अर्थमन्त्रीको मोरक्को भ्रमणलाई पछिल्लो उपलब्धीका रुपमा लिन सकिन्छ ।

डा. महत अर्थ मन्त्री भएपछि चालु आर्थिक वर्ष २०८०–८१ को लागि मितव्ययिताको मार्गदर्शन जारी गरेको छ । कूटनीतिक महत्व र अन्तर्राष्ट्रिय सम्बन्धको कारण अनिवार्य रूपमा सहभागी हुुनैपर्ने अन्तर्राष्ट्रिय सभा, सम्मेलन र अन्तर सरकारी बैठकमा मात्र मन्त्री डा. महत सहभागी भएको तथ्यांकले स्पष्ट देखाउँछ ।

जेठ १७ देखि २० सम्म प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भारत भ्रमण, ३१ असारमा भारतको गुजरातमा सम्पन्न जी–२० को फाइनान्स ट्रयाक बैठकमा सहभागी, ३ भदौमा क्यानडामा सम्पन्न ‘विश्व वातावरण सुविधा’ (जीईएफ) को सातौं सभामा सहभागिता तथा प्लेनरी सेशनबाट उपाध्यक्षमा निर्वाचित र असोज ५ मा इजिप्टको कायरोमा सम्पन्न एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को वार्षिक बैठकमा अर्थमन्त्री डा. महतको सहभागिता देशको अर्थतन्त्रमा लयमा ल्याउन योगदान पुगेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । अर्थतन्त्रलाई थप चलायमान बनाउन मन्त्री डा. महतलाई सबै पक्षको साथ र सहयोग चाहिएको छ ।