त्रिकोणात्मक टी-२० सिरिज : रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा

त्रिकोणात्मक टी-२० सिरिज : रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा

लोकेश र सूर्यको इन्ट्री, सन्दीप अनुपस्थित



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । बुधबारदेखि सुरू हुने शृंखलामा यूएई र हङकङ पनि छन् । प्रतियोगिता विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । राष्ट्रिय टोलीमा लोकेश बम र सूर्य तामाङले पनि स्थान बनाएका छन् । १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । उनी यसअघि घाइते थिए ।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुल्सन झा, विवेक यादब, अविनाश बोहरा र आसिफ शेख छन् ।

सन्दीप लामिछाने भने टोलीमा समावेश छैनन् । अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

त्रिकोणात्मक टी-२० शृंखला १० कात्तिकसम्म चल्नेछ । नेपालले आफ्नो पहिलो खेल १ कात्तिकमा यूएईसँग खेल्नेछ । दोस्रो खेल नेपालले २ कात्तिकमा हङकङसँग खेल्नेछ । तेस्रो खेल कात्तिक ४ गते नेपालले हङकङसँग नै खेल्नेछ ।

चौथो खेल भने नेपालले ६ कात्तिकका दिन यूएईसँग खेल्नेछ । क्यानका अनुसार खेल डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष स्थानमा रहने दुई टिम १० कात्तिकमा उपाधिका लागि भिड्नेछन् ।