कांग्रेस पार्टी हो कि मोर्चा बुझिसाध्य छैन : प्रधानमन्त्री प्रचण्ड

कांग्रेस पार्टी हो कि मोर्चा बुझिसाध्य छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पार्टी हो कि मोर्चा हो भन्ने बुझ्न नसकिएको बताएका छन् । उनले कांग्रेसबारे प्रष्ट हुन नसकेको बताए ।

धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले नेकपा (एमाले)भित्र पहिलोपटक ठूला चिरा परेको पनि बताए ।

“पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ । राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ,” उनले भने, “अब कांग्रेस त पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो बुझिसाध्य छैन ।”

उनले परिवर्तनबाट प्राप्त उपलब्धिलाई विभिन्न रुपमा उल्ट्याउने षड्यन्त्र भइराखेकाले ती तत्वहरूको डिजाइनलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

सुदूरपश्चिम समाजवादी मोर्चाले सोमबार गरेको सन्देश सभामा बोल्दै उनले भने,‘देशको विभिन्न भागमा धार्मिक, सामुदायिक विद्वेष फैलाउन प्रतिक्रान्तिकारीहरूको ठुलो डिजाइन छ । ती त्यतिकै भएका घटना होइन । त्यसका पछाडि ठूलो डिजाइन छ । लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने, देशमा अराजकता सिर्जना गर्ने, स्वैस्चाचारी र निरंकुश शासनतर्फ देशलाई फर्काउने, नयाँ भूमरीतिर नेपाललाई हाल्ने डिजाइन छ’, उनले भने ।

प्रतिक्रान्तिकारीको षड्यन्त्रलाई परास्त गर्न फेरि समाजवादी पार्टीहरू एकजुट हुनुपर्ने उनले बताए । समाजवादीहरू शक्तिहरू एकजुट हुन नसके त्यस्ता प्रवृत्तिले टाउको उठाउन सक्ने खतरा रहेको उनको जिकिर छ ।