जोमसोम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् ।
बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि मुस्ताङलाई ५० करोड रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।
मुस्ताङको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील रहेको उनको भनाइ छ । ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।
जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको उनले बताए ।
जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रको हिउँ अस्वाभाविक ढंगले पग्लिँदा जनजीवनमा प्रभाव र इकोसिस्टममा पुगेको असर निकै गम्भीर प्रकृतिको रहेको प्रधानमन्त्री प्रचण्डले बताए । न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा र इटलीको रोममा आयोजित खाद्यसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको सम्मेलनमा आफूले नेपालमा जलवायु परिवर्तनबाट परेको भयानक असरबारे विश्वको ध्यानाकर्षण गराएको जानकारी पनि उनले दिए ।
‘यदि हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायले ध्यान नदिने हो र ग्लोबल फण्ड त्यस क्षेत्रमा केन्द्रित नगर्ने हो भने ठूलो मानवीय र प्राकृतिक आपदाको स्थिति विश्वले नै सामना गर्नुपर्छ भन्ने कुरा गम्भीरतारुपले राखिएको छ,’ उनले भने ।
प्रतिक्रिया