विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीले सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीले भारत तथा चीनसँग सीमा जोडिएका वडाका वडाध्यक्षहरुसँग शुभकामना आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
सशस्त्र प्रहरी बल नेपालको ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा’ अनुसार भारत र चीनसँग सीमा जोडिएका ८० वडाका वडाध्यक्षहरुलाई आमन्त्रण गरिएको कार्यक्रमको उदघाटन बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले गरेका थिए । बाहिनी परिसरमा सम्पन्न भएको उक्त कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह र समुदायको भूमिकाको पहिचान, सीमावर्ती अपराध तथा गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान, निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वयन विषयमा छलफल भएको थियो।
कार्यक्रममा बाहिनीको तर्फबाट ‘बदलिदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र संभाव्यता’ सम्बन्धमा प्रस्तुतिकरण समेत भएको थियो। कार्यक्रममा पाँचथरको फालेलुङ्गदेखि सुनसरीको बर्जुसम्मका विभिन्न वडाबाट प्रतिनिधित्व गरेका वडाध्यक्षहरुले सीमामा भएका विभिन्न समस्याहरुको बारेमा बताएका थिए ।
विशेष गरी लागुऔषध ओसारपसार तथा सेवन, भन्सार छली गरी सामानहरुको अवैध ओसारपसार तथा चोरी तस्करी लगायत गतिविधिहरु नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायहरुको भुमिका सम्बन्धमा छलफल भएको थियो। यसैगरी सीमापार अपराध र अवैध गतिविधि नियन्त्रणका लागी आगामी दिनहरुमा सुचना आदानप्रदान तथा समन्वयको कार्यलाई थप प्रभावकारी बनाउदै लैजाने विषयमा वडाध्यक्षहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
वडाध्यक्षहरुबाट सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी उठान भएका विषयहरुमा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले सम्बोधन गरेका थिए । कार्यक्रम शुभकामना आदानप्रदानसहित सम्पन्न भएको थियो।
प्रतिक्रिया