काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो।
नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो। नेपालले हङकङलाई जितका लागि २ सय १४ रनको लक्ष्य दिएको थियो।
जवाफमा हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्रै बनाउन सक्यो। हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए। त्यस्तै, बाबर हायात २० तथा एजाज खानले २५ रन जोडे।
नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसिले समान १-१ विकेट लिए। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो। नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए।
कुशलले ४१ बलमा ३ चौका र ९ छक्काको सहयोगमा ९२ रन बनाए। त्यस्तै, दीपेन्द्रले ३४ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए। कुशल मल्ल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गरेका थिए। त्यसैगरी आशिफ शेखले २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए। हङकङका लागि मोहमद घजन्फरले २ विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले समान एक/एक विकेट लिए। अब नेपालले यही असोज ६ गते यूएईसँग खेल्नेछ।
कुशल र दीपेन्द्रको विश्व कीर्तिमानी साझेदारी
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक टि२०आई अन्तर्गत शनिबार हङकङविरुद्ध विश्व कीर्तिमान कायम गरेका छन् । मुलपानी क्रिकेट मैदानमा पाँचौ विकेटका लागि १ सय ४५ रनको साझेदारी गर्दै कुशल र दीपेन्द्रले विश्व कीर्तिमानी प्रदर्शन गरेका हुन् । टि२०आई क्रिकेटमा पाँचौ विकेटका लागि भएको यो नै सबैभन्दा ठूलो साझेदारी हो ।
यसअघि यो कीर्तिमान न्युजिल्यान्डला मार्क च्यापमान र जेम्स निशमको नाममा रहेको थियो । यी दुईले पाकिस्तानविरुद्ध जितमा १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए । उक्त खेलमा मार्क च्यापम्यानले १ सय ४ रन जोडेका थिए भने जेम्स निशमले ४५ रनको योगदान दिएका थिए । कुशल र दीपेन्द्रको साझेदारीमा नेपालले २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
प्रतिक्रिया