दिपेन्द्रसिंह ऐरीले टी–२० विश्वकप छनोटका खेल गुमाउने

दिपेन्द्रसिंह ऐरीले टी–२० विश्वकप छनोटका खेल गुमाउने



काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ ।

दीपेन्द्र सोमबार सिंगापुरसँगको खेलअघिसम्म सकुशल थिए । उनलाई प्लेइङ ११ मा समेत समावेश गरिएको थियो । टसपछि मैदानमा अभ्यास गर्ने क्रममा उनलाई गोलीगाँठामा चोट लाग्यो । त्यसपछि उनले खेल्न सकेनन् । दीपेन्द्रको स्थानमा हतारमा विवेक यादवलाई टीममा समावेश गरिएको थियो । यद्यपि, विवेकले बलिङ र ब्याटिङ दुवै गर्न पाएनन् ।

ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए । डाक्टरहरुले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन् ।

विश्वकप क्वालिफायर एक हप्तामात्र चल्ने प्रतियोगिता हो । दीपेन्द्रको खुट्टा ठीक हुन केही समय लाग्ने भएकाले उनले पूरै प्रतियोगिता गुमाउने देखिएको छ । यस विषयमा नेपाल क्रिकेट संघले आजै औपचारिक जानकारी गराउने छ ।

दीपेन्द्र टीममा नहुनु नेपालका लागि निकै ठूलो क्षति हो । ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा राम्रो प्रदर्शन गर्दै आएका थिए ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले भोलि दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ ।