फागुन १ मा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती

फागुन १ मा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन फागुन १ मा बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौती दिएकाे छ । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन फागुन १ मा सार्वजनिक बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै सो चुनौती दिएका हुन् । 

माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिन आग्रह गर्दै उनले यदी बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै पारित गरेर देखाउन चुनौतीसमेत दिएका हुन् । 

‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ उनले प्रश्न गरे, ‘त्यसको परीक्षण गर्न सरकार तयार छ ? सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’

फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने जिकिर गरे । ‘त्यो नेपालमा हिंसा आरम्भ भएको दिन थियो । हिंसाको बाटो गलत थियो भनेर साथीहरु शान्ति प्रक्रियामा सहभागी हुनुभएको हो । त्यो स्वीकारोत्तिका साथमा उहाँहरुको यो सदनमा उपस्थिति छ भन्ने म मान्दछु ।’

मुलुकमा युद्ध दिवश मनाउनु उचित नहुने उनको भनाइ छ ।