प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य



काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ः०० बजेदेखि समाप्त हुने भएको छ । आजको बैठकमा सोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार आज राति १२ः०० बजेदेखि संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराए ।

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेवल गरेका थिए । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

२०८० वैशाख २४ गते आइतबार प्रारम्भ भई आजसम्म जम्मा १८० दिन प्रतिनिधिसभा बैठक सञ्चालन भयो । प्रतिनिधिसभाको यो बजेट अधिवेशन हो ।

संसद्ले मिटरब्याजसम्बन्धी मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पास गरेको हो ।

“सभाबाट आर्थिक विधेयक, २०८०, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० गरी कूल चारवटा विधेयक पारित भएका छन्,” अधिवेशन अन्त्य गर्ने क्रममा सदनलाई भए गरेका कामको विवरण सुनाउँदै सभामुख देवराज घिमिरेले भने ।