सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि

सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि



काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

सुपर ओभरमा नसिम खुशीले अविनाश बोहरालाई ३ छक्का प्रहार गरेपछि ओमानले विना क्षति २१ रन बनाएको थियो । जवाफमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा कुशल मल्लले कुनै रन लिनै सकेनन् । तेस्रो र चौथो बलमा मल्ल र गुल्शनले १ रनमात्र लिन सके । पाँचौं र अन्तिम बलमा मल्लले चौका प्रहार गरे पनि नेपालले १० रनमात्र बनाउन सक्यो ।

निर्धारित ओभरमा ओमानलाई विजयका लागि अन्तिम ओभरमा ८ रन चाहिन्थ्यो । सन्दीप लामिछानेले २ विकेट लिएपछि खेल अन्तिम बलमा २ रन चाहिने अवस्थामा नेपालले १ रनमात्र दिएपछि स्कोर बराबर भएको थियो ।

ओमानबाट ओपनर कश्यप प्रजापती सर्वाधिक ६३ रन बनाए । ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका उनी अविनाश बोहराको बलमा रोहित पौडेलबाट क्याच आउट भए ।

ओमानका अकिव इलियासले ३३ र जिसन मक्सुदले २६ रन बनाए ।

नेपालका लागि करण केसी र सन्दीप लामीछानेले समान २/२,सोमपाल कामी, गुल्सन झा, विवेक कुमार यादव, अभिनाश बोहरा, समान १/१ विकेट लिए ।

नेपालका कप्तान रोहित पाडेलले अविजित ५२ रन र गुल्सन झाले २५ बलमा ५४ रनको विस्फोटक पाली खेलेका थिए । गुल्सनले २५ बलमा ५ चौका र ४ छक्काको मदतले सो रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेलले ३१ रन, आसिफ शेखले ६, सन्दीप जोराले १० र कुशल मल्लले ३ रन बनाएका थिए । विवेक यादव १ रनमा आउट हुँदा करन केसी २० रनमा अविजित रहे ।

ओमानका बिलाल खानले ३ तथा आकिब इलियासले २ र जिशान मकसुदले १ विकेट लिएका थिए ।

यसअघि नै फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा स्थान पक्का गरेका थिए ।