सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सल्लाहमा र सुझावअनुसार भूकम्प प्रभावित क्षेत्रका लागि सिन्धुपाल्चोकका ३ वटा पालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैयाँ , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैयाँ र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरी ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् ।
शुक्रबार राती ११:४७ मिनेटमा जाजरकोटमा ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परी अहिलेसम्म १५३ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् । भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावनाले सहयोग गर्ने निर्णय भएको हो ।
पिडाको अवस्थामा भूकम्प पीडितलाई हामी सबै तपाईको साथमा छौं भन्ने महसुस गराउन सिन्धुपाल्चोकका ३ वटा स्थानीय तहले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराका अनुसार सहयोग गर्ने यी तीनवटै स्थानीय निकायमा नेपाली काग्रेसले बिजय हासिल गरेको छ।
प्रतिक्रिया