काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शीर्ष नेताहरुलाई अब राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन् । गत मंसिरको निर्वाचनपछि कांग्रेसको संसदीय दलको नेता बन्नका लागि देउवाविरुद्ध उम्मेदवारी दिएर पराजित भएका महामन्त्री थापा निरन्तर राजनीतिक दलका शीर्ष नेताहरु बिरुद्ध सार्वजनिक रुपमै आफ्नो आक्रोश पोख्दै आएका छन् ।
शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिएमा अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने उनको भनाई छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा सिंहदरबारमा गणतन्त्रवादी दलका नेताहरुको बैठक बसेर जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थलाई उल्ट्याउन खोजिएको भन्दै गणतन्त्रलाई सबल बनाउन भूमिका खेल्ने शीर्ष नेताहरुले प्रतिबद्धता जनाएका थिए ।
छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललगायतका शीर्ष नेताको उपस्थिति थियो ।
सो प्रतिबद्धताबारे सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै महामन्त्री थापाले शीर्ष नेताहरुले देशका लागि यो व्यवस्थामा गर्न सक्ने र दिन सक्ने सबै योगदान दिइसकेको बताएका हुन् ।
‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू (शीर्ष नेता) ले निभाउनुभएको भूमिका महत्त्वपूर्ण छ । इतिहासले सधैँ सम्झिने छ । तपाईंहरू फेरि भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्यो,’ थापाले भनेका छन्, ‘मैले भन्दै आएको छु, फेरि भन्छु- तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो । अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन ।’
महामन्त्री थापाले अहिलेको व्यवस्थालाई बलियो बनाउन सबै शीर्ष नेताहरु एकजुट भएर गर्ने काम भने सक्रिय राजनीतिबाट विश्राम लिने मात्रै रहेको ठोकुवा गरेका छन् । शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिँदा इतिहासले श्रद्धापूर्वक सम्झने र गणतन्त्रविरुद्ध उठेका आवाज आफैं बिलाएर जाने उनको दाबी छ ।
‘यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् । इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ, सम्मान गर्नेछ । र, गणतन्त्रविरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन् । आम जनतामा व्यवस्थाप्रतिको विश्वास अझै मजबुत हुनेछ,’ थापाले भनेका छन् ।



प्रतिक्रिया