काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
भूकम्प प्रभावित क्षेत्रमा अहिले विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भइरहेको छ । अहिलेसम्म प्रधानमन्त्री राहत कोषमा ६ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ । यस्तै प्रदेश सरकारहरू र विभिन्न स्थानीय तहहरूले पनि प्रभावित क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् ।
गत शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्प र त्यसपछि आइरहेको पराकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
त्यसैगरी, पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आज बसेको बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजदूतावास स्थापना गर्ने निर्णय गरेको बताइन् ।
हाल विभिन्न २५ देशमा नेपाली राजदूतावास छन् । अब पोर्चुगलमा थपिने भएसँगै २६ देशमा नेपाली राजदूताव हुनेछन् । नेपालले १० हजारभन्दा बढी नेपाली रहेको मुलुकमा नेपाली कूटनीतिक नियोगको स्थापना गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया