तीन महिनामा भित्रियो ३ खर्ब ६५ अर्ब रेमिट्यान्स

तीन महिनामा भित्रियो ३ खर्ब ६५ अर्ब रेमिट्यान्स

असोजमा भित्रिएकाे रेमिट्यान्सले राख्यो कीर्तिमान



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई खर्ब ६५ अर्ब ३४ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४९ हजार २९७ रहेको समेत बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।