स्थानीय तहकाे निर्वाचन तयारीमा लाग्याे आयोग, मतपत्र डिजाइनका लागि माग्यो विज्ञ

स्थानीय तहकाे निर्वाचन तयारीमा लाग्याे आयोग, मतपत्र डिजाइनका लागि माग्यो विज्ञ



काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकिनसकेपनि निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार स्थानीय तहको निर्वाचनको तयारी तीब्र गतिमा अघि बढेको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा २०७९ जेठ ४ गर्ते निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्री देउवाले निर्वाचनको तयारी थाल्न निर्देशन दिएका थिए । सोही अनुसार आयोगले तयारी सुरु गरेको हो । अहिले देशभरका निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन भइरहेको उनले बताए । सरकारले निर्वाचन मिति घोषणा गर्नासाथ मतदाता नामावली सङ्कलन रोकिने उनले बताए ।

आयोगले निर्वाचन प्रयोजनका लागि मतपत्र डिजाइनको प्रक्रिया पनि अघि बढाएको छ । आज एक सूचना जारी गर्दै मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने आयोगले बताएको छ । चित्रकला, ग्राफिक डिजाइन, दृष्टान्त चित्र (इलुस्ट्रेसन) र ग्राफिक डिजाइनमा ज्ञान हासिल भएको हुनुपर्ने छ ।