काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि विशेष अभियानको कार्यतालिका पारित गरेको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको हाे ।
यो यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गर्नेछन् । समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरुसहित हुनेछ ।
३ हप्तासम्म चल्ने पदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् भने केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु टोलीमा रहनेछन् ।
नेपालमा पहाडी क्षेत्रको भूगोल सबैभन्दा धेरै रहेको, उल्लेख्य बसोबास रहेको, जैविक विविधता र जलस्रोतको भण्डार रहेकाले यस क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम गरिएको प्रचार विभाग प्रमुख गौतमले बताए ।
एमालेले मुलुकको परितर्वनलाई चुनौती दिने र जातीय र धार्मिक सहिष्णुतामा खलल पार्नेजस्ता अराजक क्रियाकलापलाई नियन्त्रण गर्नुको साटो गठबन्धन सरकारले बढावा दिइरहेको भन्दै आपत्ति जनाएको छ ।
बैठकले लोकतान्त्रिक गणतन्त्रका विरूद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ संकल्प गरेको प्रमुख गौतमले जानकारी दिए । त्यस्तै बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि राहत वितरणलाई राजनीतिक प्रचारबाजी नाफाघाटाको सौदाबाजीको विषय बनाइएको भन्दै आपत्ति प्रकट गरेको छ ।
भूकम्पपिडित पीडितहरूको पुनःस्थापनाका लागि ठोस कार्ययोजनासहित अविलम्ब काम थाल्न र अस्थायी आवास तथा न्यानो कपडा उपलब्ध गराएर भूकम्पपीडित नागरिकको जीवन रक्षा गर्न बैठकले सरकारसंग माग गरेको गौतमले बताए ।


प्रतिक्रिया