काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई प्रस्थान गर्ने भएका हुन् ।
यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् ।
प्रधानमन्त्री प्रचण्डले १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार : जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्ने छन् ।
सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्ने छन् ।
प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने छन् ।


प्रतिक्रिया