ओखलढुङ्गा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलमा अर्बौं घोटाला भएको छ भन्ने अनुमान लगाउन सकिने बताएका छन् ।
मंगलबार नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्दै थापाले कानुनको दुरूपयोग भएको पाइएमा दण्डित गरिनुपर्ने बताए ।
‘हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ । केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ,’ महामन्त्री थापाले भने, ‘प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ ।’
महामन्त्री थापाले यो प्रकरणमा कानुनको दुरुपयोग भएको वा जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि सरकार डराउन नहुने बताए ।
‘कांग्रेस भएको सरकार हो, यो सरकारले यो खालको कुनै पनि काममा यदि कहिँ कतैबाट पनि कानुनको दुरुपयोग भएको छ, जतिसुकै ठूलो मान्छे यसमा संलग्न भएको होस्, यदि ठूलै नेताको सम्पत्ति चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा लगानीको नाममा भित्र्याउने प्रयास भएको छ भने जो सुकै होस् दण्ड पाउँछ भन्ने विश्वास दिलाउनुपर्छ’, उनले भने ।
मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो ।


प्रतिक्रिया