विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक



एजेन्सी । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

‘गीत जति मन छुने खालको छ भिडियो पनि त्यतिकै राम्रो बनाउने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २४ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत छन् । उहाँका ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन् ।