इन्ट्रा फाउण्डेशनको राहत कार्यक्रम स्थगित, दिलिपले भने, ‘विपतमा सँगै हुनेछौं’

इन्ट्रा फाउण्डेशनको राहत कार्यक्रम स्थगित, दिलिपले भने, ‘विपतमा सँगै हुनेछौं’



काठमाडौं। अमेरिकी गैर सरकारी संस्था ‘इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका’द्वारा संचालित राहत अभियान स्थगित गरिएको छ । नेपालका कलाकारहरु दिलिप रायमाझी, संजीत भण्डारी, रिचा थापा लगायतको सहभागितामा काठमाडौं उपत्यका र जिल्लाहरुमा फाउण्डेशनद्वारा राहत प्रदान गरिएको थियो ।

फाउण्डेशन अमेरिकाका प्रबन्ध निर्देशक रुद्र बानियाका अनुसार कोभिड-१९ ले भएको लकडाउनका कारण अप्ठेरोमा परेकालाई प्रदान गरिँदै आएको राहत कार्यक्रम स्थगित भएको तर अन्य राहत कार्यक्रमहरु भने कायमै रहेको बताए । यो फाउण्डेसनका नेपाल निर्देशक भने अभिनेता दिलिप रायमाझी हुन् । रायमाझीले फाउण्डेशन विपतमा सँधै सँगै रहने बताए । अमेरिकामा सात बर्षदेखि संचालित यो संस्था नेपालमा पनि दर्ता भएर संचालित छ । अमेरिकामा दश हजार बढि सदस्य रहेको यो संस्थाका पदाधिकारीहरु अमेरिकाबाट नै नेपाल आएर राहतमा सहभागि बनेका थिए ।

फाउण्डेशनका सदस्य तथा अभिनेता सन्जित भण्डारीले आफु यो संस्थासँग जोडिएर देशलाई दुखेको बेला देशको हितमा काम गर्न पाउँदा खुशी लागेको बताए । यो संस्थामा हाल चलिरहेको ‘दि भ्वाईस अफ नेपाल’का बलिया प्रतिष्पर्धी किरण गजमेर पनि आबद्द रहेका छन् । गजमेरले संस्थासँग आवद्ध रहेर राहतमा खटिने विमला श्रेष्ठ, ओजस्बी थापा, बवि  श्रेष्ठ, रञ्जित अधिकारी, निक शर्मा, ऋचा थापा लगायतलाई धन्यवाद दिएका छन् ।

फाउण्डेशनले अमेरिकामा रहेका नेपालीहरुलाई लक्षित गरी विभिन्न खेलकुदका कार्यक्रमहरु, मेरो डान्स कप अफ यूएसए, मेरो भ्वाईस कप यूएसए लगायतका विभिन्न सहयोगी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेपालमा विगत तीन वर्ष देखि डे केयर होम सञ्चालन गरिरहेको र निकट भबिष्यमा नै झापा जिल्लामा वृद्दाआश्रम संचालनमा ल्याउने तयारी रहेको संस्थापक अध्यक्ष डिल्ली अधिकारीले बताए । भुटानी शरणार्थी क्याम्पमा रहेका र तेस्रो मुलुक जान नमान्ने वृद्द वृद्दालाई मासिक पाँच हजार रुपैयाँ दिने घोषणा पनि अधिकारीले गरे । उनले राहतको कार्यक्रम नेपालमा लकडाउन सहज भएको कारणले बन्द गरिएको भएता पनि आवश्यक परेको खण्डमा फाउण्डेशन सँधै तयार रहने बताए ।