अमेरिकाले दिएको १५ लाख खोप काठमाडौं आइपुग्यो

अमेरिकाले दिएको १५ लाख खोप काठमाडौं आइपुग्यो



काठमाडाैं । अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप काठमाडौं आइपुगेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप कतार एयरवेजको विमानमार्फत सोमबार बिहान काठमाडौं ल्याइएको हो ।

अमेरिकी सरकारले कोभ्याक्स सुविधा मार्फत पठाएको यो खोप एक डोज लगाए मात्रै पुग्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे ।

स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभ्याक्स सुविधा मार्फत खोप उपलव्ध गराएकोमा अमेरिकी सरकार र जनताप्रति धन्यवाद दिए । उनले अमेरिकाले नेपाललाई यसअघि पनि भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको उल्लेख गरेका थिए ।

मन्त्री श्रेष्ठले आएको खोप जोखिम समूहलाई प्राथमिकतामा राखेर ५० देखि ५४ बर्ष उमेरसमूहकालाई दिने योजना बनाइएको बताए । राजदूत बेरीले अमेरिकी सरकार र त्यहाँका जनता कोभिडबिरुद्धको नेपालको लडाईमा पूर्ण साथमा रहेको बताएका थिए । उनले नेपालीका लागि खोप सहयोग गर्न पाउँदा खुशी लागेको समेत सुनाएका थिए ।