दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय


ग्लोब नेपाल
0
Shares

काठमाडौं । दक्षिण एसियामा वैवाहिक बलात्कारसम्बन्धी कानुन, सजायमा रहेको असमानता र पीडितले न्याय प्राप्तिमा भोग्नुपर्ने चुनौतीबारे सार्वजनिक क्षेत्रीय प्रतिवेदनले सरकारलाई वैवाहिक बलात्कारसम्बन्धी कानुनी अपवाद हटाउन आग्रह गरेको छ ।

साउथ एसियन मूभमेन्ट फर एक्सेसिङ जस्टिस (समाज) ले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालसहित दक्षिण एसियाका आठ देशमा वैवाहिक बलात्कारसम्बन्धी कानुनी व्यवस्था, यसको ऐतिहासिक विकास र पीडितमा पर्ने प्रभावबारे विश्लेषण गरिएको छ ।

प्रतिवेदनअनुसार नेपालमा वैवाहिक बलात्कारको अधिकतम सजाय पाँच वर्ष छ । भुटानमा पनि वैवाहिक बलात्कारमा अन्य बलात्कारभन्दा कम सजायको व्यवस्था छ । भारत, बंगलादेश र श्रीलंकामा अधिकांश अवस्थामा पतिहरू वैवाहिक बलात्कारको आरोपबाट कानुनी छुट पाउँछन् ।

प्रतिवेदनले वैवाहिक बलात्कारलाई अन्य बलात्कारसरह गम्भीर अपराधका रूपमा मान्यता दिनुपर्ने, समान सजायको व्यवस्था गर्नुपर्ने र स्वतन्त्र तथा स्वेच्छिक सहमतिमा आधारित कानुनी परिभाषा अपनाउनुपर्ने सुझाव दिएको छ ।

यो प्रतिवेदन साउथ एसियन मूभमेन्ट फर एक्सेसिङ जस्टिस (समाज) ले प्रकाशित गरेको हो । दक्षिण एसियाभरको गठबन्धनको सचिवालय इक्वालिटी नाउ (Equality Now) रहेको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी), विमेन फर ह्युमन राइट्स तथा फेमिनिष्ट दलित अर्गनाइजेसन नेपाल साझेदार संस्था हुन् ।

भारत र बंगलादेशका अदालतमा वैवाहिक बलात्कारसम्बन्धी कानुनी अपवादविरुद्धका चुनौती विचाराधीन रहेका बेला लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुने क्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

इक्वालिटी नाउकी दक्षिण एसियाली क्षेत्रीय प्रतिनिधि तथा काठमाडौं निवासी रञ्जिता सिल्वालले वैवाहिक बलात्कारसम्बन्धी अपवाद हटाउनुपर्ने बताइन् ।

‘वैवाहिक बलात्कार अपवाद हटाइयोस् र विवाहभित्र भएको बलात्कारलाई विवाहबाहिरको बलात्कारसरहकै व्यवहार गरियोस्, समान सजाय र स्वतन्त्र रूपमा दिइएको सहमतिमा आधारित परिभाषासहित’ उनले भनिन् ।

वैवाहिक बलात्कारसम्बन्धी कानुनी अपवादको विकास

वैवाहिक बलात्कारसम्बन्धी अपवादले पतिलाई आफ्नी पत्नीमाथि बलात्कारको आरोपबाट कानुनी छुट दिने व्यवस्था जनाउँछ । प्रतिवेदनअनुसार यसको ऐतिहासिक आधार सन् १७३६ मा सर म्याथ्यु हेलले प्रस्तुत गरेको विवाहपछि पत्नीले यौन सहमति फिर्ता लिन नसक्ने अवधारणासँग जोडिएको छ । दक्षिण एसियाका धेरै देशले औपनिवेशिक कालका कानुनी संहिताबाट यस अवधारणाका विभिन्न स्वरूप ग्रहण गरेका थिए ।

नेपालमा सन् २००२ मा सर्वोच्च अदालतले सम्बन्धको प्रकृतिसँग असम्बन्धित रूपमा सहमतिविनाको यौन सम्पर्क बलात्कार हुने ठहर गरेको थियो । सन् २००६ मा संसद्ले वैवाहिक बलात्कारको सजाय तीनदेखि छ महिनासम्म तोकेको थियो । अन्य बलात्कारका लागि लामो सजायको व्यवस्था रहेको अवस्थामा उक्त सजाय निकै कम थियो ।

सन् २००७ मा सर्वोच्च अदालतले वैवाहिक बलात्कार र अन्य बलात्कारको सजायबीचको अन्तरलाई भेदभावपूर्ण र असंवैधानिक ठहर गरेको थियो । तर, सन् २०१७ को मुलुकी अपराध संहिता ऐनले वैवाहिक बलात्कारमा अधिकतम पाँच वर्ष सजाय तोके पनि न्यूनतम सजाय निर्धारण गरेन । अन्य बलात्कारमा भने ६ देखि २० वर्षसम्म सजायको व्यवस्था छ ।

पाकिस्तानले सन् २००६ मा वैवाहिक बलात्कारसम्बन्धी अपवाद हटाए पनि विवाहभित्र बलात्कारसम्बन्धी कानुन लागू हुने पुष्टि गर्ने उच्च अदालतको प्रकाशित फैसला नभएको प्रतिवेदनमा उल्लेख छ ।

माल्दिभ्सले सन् २०२१ मा कानुन संशोधन गरेको थियो । अक्टोबर २०२० मा उच्च अदालतले जियादा नाइमको मुद्दामा एक पतिलाई कसुरदार ठहर गरेपछि कानुनी सुधार भएको प्रतिवेदनमा उल्लेख छ । तर, दण्ड संहिताको दफा १३०(ख) ले अन्यथा प्रमाणित नभएसम्म पतिपत्नीबीच सहमति रहेको मान्ने व्यवस्था अझै कायम रहेको जनाइएको छ ।

भारतमा भारतीय न्याय संहिता, २०२३ को दफा ६३ ले पत्नी १८ वर्ष वा सोभन्दा बढी उमेरकी भएमा पतिलाई बलात्कारको आरोपबाट छुट दिने व्यवस्था गरेको छ । सरकारले उक्त अपवाद हटाउने प्रस्तावको विरोध गर्दै यसले विवाहलाई अस्थिर बनाउन सक्ने र अत्यन्त कठोर हुने तर्क गरेको प्रतिवेदनमा उल्लेख छ ।

हल्का सजायले पीडितलाई थप जोखिम

प्रतिवेदनले वैवाहिक बलात्कारमा कम सजायको व्यवस्थाले अपराधलाई कम गम्भीर रूपमा लिइएको सन्देश दिने र पीडितको न्यायमा पहुँच कमजोर बनाउने उल्लेख गरेको छ । नेपालमा न्यूनतम सजाय नतोकिएकाले कसुरदार छोटो समयमै छुट्न सक्ने अवस्था रहेको भन्दै आलोचना हुँदै आएको छ । पीडितहरूले सजाय भोगेर फर्किएका पतिले पुनः दुर्व्यवहार सुरु गरेको अनुभवसमेत सुनाएका छन् ।

सन् २००७ मा सर्वोच्च अदालतले तीन वर्षभन्दा कम सजाय हुने कसुरमा धरौटीमा छुट्न सकिने व्यवस्थाले कसुरदार घर फर्कने सम्भावना खुला रहने विषय उल्लेख गरेको थियो ।

भुटानमा वैवाहिक बलात्कारलाई सानो अपराध मानिन्छ, जसमा एक महिनादेखि एक वर्षसम्म सजाय हुन्छ । जबकि अन्य व्यक्तिबाट विवाहित महिलामाथि हुने बलात्कारमा पाँचदेखि नौ वर्षसम्म सजायको व्यवस्था छ । वैवाहिक बलात्कारका मुद्दालाई मध्यस्थतामार्फत समाधान गर्ने अभ्यासले पीडितलाई मेलमिलापका लागि दबाबमा पार्न सक्ने प्रतिवेदनले औँल्याएको छ ।

सिल्वालले वैवाहिक बलात्कारलाई अपराध मानिसकेपछि त्यसमा कम सजाय तोक्नुपर्ने कुनै सैद्धान्तिक आधार नरहेको बताइन् ।

‘कुनै देशले वैवाहिक बलात्कारलाई अपराध मानिसकेपछि त्यसलाई कम सजाय गर्नुपर्ने कुनै सिद्धान्तगत कारण छैन । सजाय अपराध कति गम्भीर हो भन्ने कानुनको घोषणा हो, र समान संरक्षणका लागि समान मान्यता आवश्यक हुन्छ’ उनले भनिन् ।

सरकारलाई कानुनी सुधारको आग्रह

प्रतिवेदनले दक्षिण एसियाली सरकारहरूलाई वैवाहिक बलात्कारसम्बन्धी कानुनी अपवाद हटाउन, अन्य बलात्कारसरह अपराधको गम्भीरताअनुसार सजाय निर्धारण गर्न तथा स्वतन्त्र र स्वेच्छिक सहमतिको अभावलाई बलात्कारको आधार बनाउन सिफारिस गरेको छ ।

यसका साथै प्रहरी, सरकारी वकिल र न्यायाधीशलाई लैङ्गिक हिंसा तथा वैवाहिक बलात्कारसम्बन्धी तालिम दिन, पीडितका लागि कानुनी सहायता र आवश्यक सहयोग उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

नेपालका लागि प्रतिवेदनले औँल्याएको सुधारको मुख्य विषय सन् २००७ मा सर्वोच्च अदालतले भेदभावपूर्ण ठहर गरेको वैवाहिक बलात्कार र अन्य बलात्कारबीचको सजायसम्बन्धी अन्तर हटाउनु हो ।