एनआरएनए निर्वाचनः नेतृत्व लिन आकांक्षी उम्मेदवारहरु चुनावी दौडधुपमा

एनआरएनए निर्वाचनः नेतृत्व लिन आकांक्षी उम्मेदवारहरु चुनावी दौडधुपमा



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । चुनाव दुई ध्रुवीय हुने निश्चित छ । संस्थापन समूहका नेतृत्व डा. बद्री केसीले गरेका छन् भने अर्को पक्ष अघिल्लो निर्वाचनमा पराजित कुल आचार्यले गर्नेछन् । उनीहरु प्यानल बनाएरै चुनावी मैदानमा छन् ।

संस्थापन पक्षबाट निर्वाचन लड्नेहरु बढुवा भएर एक पदमाथि उम्मेदवार दिँदैछन् भने वर्तमान कार्यसमितिमा रहेर टिममा नअटाएकाहरु केहीले कुल आचार्यलाई साथ दिँदैछन् । कुल आचार्यको टोलीमा उम्मेदवार केही हेरफेर हुने देखिएको छ । उनले महासचिवमा डा केशव पाैडेललाइ राेजेका छन् भने जानकी गुरु‌‌ङलाइ महिला उपाध्यक्षयमा उम्मेरद्वार बनाउने भएका छन् ।

संस्थापन भनिएको टोलीमा अध्यक्ष बद्री केसी, चार उपाध्यक्षमध्ये हेमराज शर्मा (वर्तमान महासचिव) रविना थापालगायत छन् भने महासचिवमा वर्तमान सचिव गौरी जोशीले उम्मेदवारी दिने तयारी भएको बुझिएको छ ।

हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो ।

उनी नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए । त्यसैगरी एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गरेका थिए ।

केन्द्रीय सचिवका लागि डा देवी बस्नेतले उम्मेदवारी दिने भएका छन्। आसन्न महाधिवेशनमा बस्नेतले सचिव पदको दाबी गर्ने भएका हुन्।

क्यान्सर निको पार्ने केमिकल (ट्याक्सोल छुट्याउने र त्यसको विशेषताको पहिचान गर्ने) मा उनले अनुसन्धान गरेका छन्। एन्टिवायोटिक बनाउने जिनहरुको पहिचान गर्ने तथा जिन इन्जिनियरिङ गरी अझ प्रभावकारी एन्टिवायोटिक उत्पादन गर्ने विषयमा उनले अनुसन्धान गरेका छन्।

लामो समयदेखि दक्षिण कोरियामा रहेका बस्नेतले सनमुन विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका थिए। दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था सोनसिक र एनआरएन कोरियाको बस्नेत संस्थापक उपसभापति हुन्।

आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।