मन्त्रिपरिषद् विस्तारअघि शीर्ष नेताको बैठक, माधवको चित्त बुझाउनै कठिन

मन्त्रिपरिषद् विस्तारअघि शीर्ष नेताको बैठक, माधवको चित्त बुझाउनै कठिन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज वा भोलिमा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताबीच आज पुन बैठक बसी मन्त्रालय भागबण्डा मिलाउने तयारी भएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताबीच हिजो भएको छलफलमा मन्त्रालय भागवण्डा र शक्ति बाँडफाँटमा कुरा मिल्न सकेको थिएन । आज पुनः शीर्ष नेताबीच छलफल हुने र सकेसम्म आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी प्रधानमन्त्री देउवाले गरेको बुझिएको छ ।

यसका लागि सत्ता गठबन्धनमा आबद्ध कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादब र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच आज पनि छलफल हुन लागेको हो ।

कांग्रेसले ७, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ वटा मन्त्रालय लिने प्रस्ताव गरिएको छ ।

नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात सहित ६ वटा मन्त्रालय दाबी गरेको छ । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसहित ५ वटासम्म मन्त्रालय दिन कांग्रेस तयार देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले मन्त्रालय बाँडफाँट समान हुनुपर्ने भन्दै ५ वटा दाबी गरेको छ ।

यसैगरी अर्थ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधारसहित थप चार मन्त्रालय दाबी गरेको छ । मन्त्रालय भागबण्डासँगै उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने पनि टुंगो लाग्न बाँकी छ ।

प्रधानमन्त्री देउवा उपप्रधानमन्त्री नराख्ने पक्षमा छन् । आजको बैठकमा यी सबै विषयमा टुंगो लाग्ने सत्ता गठबन्धनका नेताहरुले दाबी गरेका छन् ।