‘कम्युनिस्ट पार्टीको नाममा बदनाम सरकार ढल्यो भनेर आँसु बगाउन जरुरी छैन’

‘कम्युनिस्ट पार्टीको नाममा बदनाम सरकार ढल्यो भनेर आँसु बगाउन जरुरी छैन’



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलेका कारण नयाँ पार्टी निर्माण गर्नुपरेको बताएका छन् ।

ओलीले नेतृत्व गरेको पार्टी ‘दक्षिणपन्थी अवसरवादी’ पार्टी भएको बताउँदै नेता खनालले निजी स्वार्थ नभएका क्रान्तिकारीहरूले गर्ने विद्रोहको संख्या कति छ भन्ने कुराको महत्व नहुने बताए ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर आज स्वदेश फर्किएका खनालले विमानस्थमा पत्रकारहरुसँग भने, ‘केपी ओलीको पार्टी दक्षिणपन्थी अवसरवादी पार्टी हो, ‘नेकपा एमाले त हाम्रो रगत र पसिनाले निर्माण गरेको पार्टी हो । तर, केपी ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलिदिनुभयो । त्यसैले क्रान्तिकारी पार्टीको आवश्यकता पर्यो ।’

नेता खनालले भने, ‘त्यो सरकार ‍ढल्नु भनेको निरकुंशताको पराजय हो । दक्षिणपन्थी अवसरवादको पराजय हो । अहंकारवादको पराजय हो। कम्युनिस्ट पार्टी विघटन गरेको होइन । कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर आँशु बगाउनुपर्ने जरुरी छैन। त्यो कम्युनिस्ट पार्टीको नाममा बदनाम सरकार थियो। बदनाम सरकार ढल्यो ।’

‘हाम्रो लोकतन्त्र, गणतन्त्र र संविधान कलिलो छ । यसलाई सुदृढीकरण गर्नको निम्ति यी शक्तिहरुको बीचमा सहकार्य जरुरी छ। हाम्रा बीचमा प्रतिस्पर्धा पनि भइरहन्छन् । तर सहकार्य अहिलेको मूल आवश्यकता हो, उनले भने।

त्रिभुवन विमानस्थलमा खनाललाई पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरेका थिए । त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा खनालको लिखित मन्तव्य पनि पढेर सुनाइएको थियो । मन्तव्यमा खनालले आफूले पुनर्जीवन पाएको बताएका छन् ।

‘शल्यक्रिया शतप्रतिशत सफल भएको छ, मेरो यो नाफाको जीवन हो,’ खनालले भने, ‘उमेरले ७१ वर्ष पार गरिसकेँ, अब सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु ।’

यस्तै नेता खनालले आफु ७० वर्ष कटिसकेकाले अब आफु पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा समेत गरेका छन् । ‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन । ७० वर्ष पुगिसकेको छु’ खनालको भनाइ छ ।

खनालको स्वागतको लागि माधवकुमार नेपाल, वेदुराम भुसाल, गंगालाल तुलाधर, मुकुन्द न्यापाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल, विरोध खतिवडा लगायतका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता त्रिभुवन विमानस्थलमा पुगेका थिए ।