एमालेका १२ सांसदले समाजवादी रोजेपछि बागमती मुख्यमन्त्री शाक्य अल्पमतमा

एमालेका १२ सांसदले समाजवादी रोजेपछि बागमती मुख्यमन्त्री शाक्य अल्पमतमा



काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

२ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् । एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । हाल प्रदेश मन्त्री रहेका कृष्ण शर्मा खनालले पनि समाजवादीमा सनाखत गर्ने भएका छन् ।

लामो समय माधवकुमार नेपाल समूहमा रहेकी शाक्य मुख्यमन्त्री बन्ने भएसँगै केपी ओली समूहमा गएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षमा माधव नेपाललाई साथ दिँदै आएकी उनी २ भदौमा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बनेकी हुन् ।