कांग्रेस वडा अधिवेशन : राजधानी छोडेर गाउँ जाने बढे

कांग्रेस वडा अधिवेशन : राजधानी छोडेर गाउँ जाने बढे



काठमाडौँ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ ।

पार्टीको विधानअनुसार चार वर्षमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि संविधानअनुसार पाँच वर्ष छ महिनापछि हुन लागेको महाधिवेशनमा भाग लिन उपत्यका छोडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको हो । राजधानीमा विभिन्न पेसा व्यवसाय गरेर बसेका व्यक्ति पार्टीको लामो समयपछि हुन लागेको महाधिवेशनमा भाग लिन गाउँ हिँडेका हुन् ।

विसं २००३ मा स्थापना भएको कांग्रेसले विभिन्न आरोह अवरोह पार गर्दै भदौ १८ देखि १४ औँ महाधिवेशनका लागि वडा अधिवेशन गर्न लागेको छ । विसं २००३ को मजदुर आन्दोलन, २००७ सालको प्रजातन्त्र स्थापना, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र स्थापना, २०६२-०६३ को जनआन्दोलनको नेतृत्व गरेको कांग्रेसको महाधिवेशनलाई देश तथा विदेशमा महत्वका साथ हेरिएको छ ।

संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसको विसं २०७२ फागुनमा पार्टीको १३ औँ महाधिवेशन सम्पन्न गरेको थियो । उक्त महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएका थिए । नेपाली कांग्रेस गोरखाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी कांग्रेसको वडा, पालिका हुँदै जिल्ला अधिवेशनमा भाग लिनका लागि एक हप्ता पहिल्यै गोरखा पुगेका थिए ।

“वडादेखि पालिका हुँदै जिल्ला तहसम्म सर्वसम्मत नेतृत्व तथा प्रतिनिधि चयनका गर्नुपर्छ भन्ने मान्यताका साथ म अहिले गाउँगाउँमा हिँडेको छु”, उनले भने । नेतृत्व छनोटका विषयलाई जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर हुने भएकाले सर्वसम्मत नेतृत्व निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ ।

यस्तै, नेपाली कांग्रेस सङ्खुवासभाका महासमिति सदस्य एवं पूर्वराज्यमन्त्री दीपक खड्का पनि अधिवेशन नजिकिएसँगै गृहजिल्ला पुगेका छन् । साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्दै कांग्रेस सङ्गठनलाई थप मजबुद बनाउनका लागि आफू सङ्खुवासभा आएको उनले बताए । नेपाली कांग्रेस धादिङका क्रियाशील सदस्य क्रिसमान तामाङ पनि वडा अधिवेशन नजिकिएसँगै धादिङ पुगेका छन् । धादिङको उत्तरी क्षेत्र रुवीभ्यालीका तामाङ आफ्नो गाउँ मोटरबाटोबाट धेरै हिँड्नुपर्ने भएकाले आज नै गाउँ पुगेका हुन् । “बर्सातको समय आवतजावतमा समस्या हुन सक्छ, त्यसैले दुईदिन पहिले नै म गाउँ जान लागेको हो”, उनले भने ।

यसरी १४ औँ महाधिवेशनका लागि नेता तथा कार्यकर्ता जिल्ला र गाउँमा जान थालेपछि गाउँगाउँमा राजनीतिक माहोल निर्माण भएको छ । पटकपटक निर्वाचनको मिति तोकिँदै स्थगित हुँदै आएको कांग्रेसले यही भदौ १८ गतेदेखि देशभर वडा अधिवेशन हुँदै विभिन्न तहको अधिवेशन सम्पन्न गर्न लागेको छ । कांग्रेसले यही भदौ २७ मा गाउँ तथा नगर अधिवेशन, आगामी असोज १ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, असोज ५ गते सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यस्तै, आगामी कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन र मङ्सिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि ५६ जिल्लाको क्रियाशील सदस्यताको सूची वेबसाइटमा सार्वजनिक गरिसकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले क्रियाशील सदस्यता विवाद टुङ्गो लागेका जिल्लामा वडादेखि जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए । बाँकी जिल्लाको अधिवेशनका लागि पनि चाँडो क्रियाशील सदस्यता सार्वजनिक गरेर निर्वाचन अधिकृत खटाउने घिमिरेको भनाइ छ ।