माधव नेपाललाई २५ सांसद वा ४१ केन्द्रीय सदस्य चाहिने

माधव नेपाललाई २५ सांसद वा ४१ केन्द्रीय सदस्य चाहिने



सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर केन्द्रीय समिति वा प्रतिनिधिसभाका २० प्रतिशतले अर्को पार्टी खोल्न पाउने व्यवस्था गरेपछि नेकपा एमालेको माधव नेपाल समूहलाई ४१ केन्द्रीय सदस्य चाहिने भएको छ । अथवा प्रतिनिधिसभाका २५ सांसदले नेपाललाई साथ दिनु पर्ने छ ।

सरकारले चालू अधिवेशनको सोमवार अन्त्य गरेर मंगलवार मध्याह्न अध्यादेश जारी गरेको हो ।

एमालेका माधव नेपाल समूहका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिएका थिए । त्यसबेला एमाले एकताको पक्षमा कार्यदलमा रहेका नेपाल समूहका पाँच सदस्य सहित १० जना तटस्थ बसेका थिए ।

केन्द्रीय सदस्यहरुमा लगभग ९० जना माधव नेपालको पक्षमा रहेको बताइन्छ । यीमध्ये आधा मात्रले साथ दिए पनि नेपाललाई नयाँ पार्टी खोल्ने बाटो खुल्ने छ ।

चरम विवादमा रहेको जनता समाजवादी पाटीका महन्थ ठाकुर पक्षलाई पनि यो अध्यादेशले राहत दिएको छ । प्रधानमन्त्रीलाई बिश्वासको मत दिने विषयमा जसपा एक मत रहे पनि आन्तरिक रुपमा विभाजित भएको महन्थ ठाकुर पक्षमा कुल ३२ मध्ये १२ सांसद रहेका छन् । निर्वाचन आयोगको निर्णयपछि लगभग पार्टीविहीन बनेका ठाकुरले अब नयाँ पार्टी बनाउन सक्नेछन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले ऐनेमा रहको केन्द्रीय समिति र प्रतिनिधिसभाका ४० प्रतिशत सदस्यले अलग पार्टीको मान्यता पाउन सक्ने प्रावधानलाई अध्यादेश मार्फत दुई मध्ये एक मात्र राख्ने गरी संशोधन प्रयास गरेका थिए । अहिले उनै ओलीको पार्टीले यो अध्यादेशको प्रतिवाद गर्ने बताएको छ ।
सरकारले प्रतिनिधिसभालाई पूरा कार्यकाल चलाउनका लागि यो विकल्प रोज्नु परेको बताएको छ । तर अध्यादेशका आधारमा सरकार चलाउने काम गलत भएको संविधानविदहरुले बताएका छन् ।