गीतकार दिलिप योन्जनको तामाङ सेलो सार्वजनिक

गीतकार दिलिप योन्जनको तामाङ सेलो सार्वजनिक



गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्घारा लिखित “उठ्नुपर्छ उठाउनुपर्छ हामी तामाङ एक हुनु पर्छ” बोलको गीत सार्वजनिक भएको छ । तामाङ जातीको जागरण सम्वन्धि भाव समेटिएको उक्त गीतले एकताबद्घ भएर आफ्नो हक हीत र अधिकारको निम्ति अघि बढ्न सम्पूर्ण तामाङ समुदायलाई सांगीतिक सिर्जना मार्फत पुनः एक पटक झकझक्याएको छ ।
श्रीमती लक्ष्मी गुरुङ तामाङले निर्माण गरेको उक्त गीतमा संगीत राजेश थापाले दिएका हुन् भने गायिका निर्मला घिसिङ र गायक फुल कुमार बमजनले स्वर दिएका छन् ।  
पवन वाङ लामाको एरेन्ज रहेको उक्त गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको हो भने एकान्त मगरले भिडियो छायांकन तथा सम्पादन गरेका हुन् ।  
अमेरिकामा रहेर विगत लामो समयदेखि नेपाली गीत संगीत र सामाजिक सेवाका कार्यहरुमा सकृय गीतकार तामाङको यस अघि नै गाउँबेसीमा फुलै फुल्यो, अन्जानमै माया बस्ला है, आफ्नै छायाले आदि गीतहरु चर्चित छन् । उनका विभिन्न एकल सांगीतिक एल्बमहरु तथा गीत, कविता र मुक्तक संग्रहहरु प्रकाशित छन् ।