नेपाल समूहको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न कुनै पनि रुपको सूर्य

नेपाल समूहको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न कुनै पनि रुपको सूर्य



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेका छन्। नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको बुझिएको छ । त्यसैगरी चुनाव चिह्न भने सूर्य नै राख्ने निष्कर्षमा पुगेको एक नेताले बताएका छन् ।

पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत)लगायतका नाममा छलफल भएको थियो । नेपाल निकट नेता मेटमणि चौधरी भन्छन् –‘नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न कुनै पनि रुपको सूर्य हुन सक्छ, सूर्य छाड्दैनौँ ।’

नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको बुझिएको छ । यसै सन्दर्भमा नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडा भन्छन् –‘नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन, विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’

सरकारले पार्टी विभाजन हुन केन्द्रीय समिति वा प्रतिनिधि सभाका २० प्रतिशत सदस्य भए पुग्ने गरी अध्यादेश जारी गरेपछि एमालेको केपी ओली पक्ष तनावमा छ । केन्द्रीय समितिका २०३ मध्ये झण्डै ९० जना नेपाल पक्षसँग छन् । यी मध्ये आधाले मात्रै साथ दिंदा पनि नेकपा एमालेबाट अलग्गिने स्वतन्त्रता नेपाल समूहलाई हुन्छ ।

नेता नेपालले मंगलबार दिउँसो अध्यक्ष ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका थिए। आफ्नो समूहसम्बद्ध जनवर्गीय संगठनहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरूले एकताका लागि अन्तिमसम्म पहल गरेको भए पनि ओली सच्चिने सम्भावना नभएकाले नयाँ दल बनाउनुको विकल्प नभएको बताएका थिए।