प्रधानमन्त्री देउवासँगको भेटपछि डा. केसी अनशन स्थगित गर्न सहमत

प्रधानमन्त्री देउवासँगको भेटपछि डा. केसी अनशन स्थगित गर्न सहमत



काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् ।

डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँच बुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए । तर प्रधानमन्त्री शेरबहादुर देउवाले वार्तामा बोलाएर पाँच बुँदे प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीबारे उपयुक्त समयमा सम्बोधन गर्ने र सार्वजनिक पदहरुमा नियुक्ति गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानून बनाउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री देउवाले राज्यमन्त्री नियुक्तिमा त्रुटी भएको स्वीकार गरेका छन् । अब मन्त्रिपरिषद् विस्तार गर्दा माग सम्बोधन गर्ने बचन दिएपछि केसीले तत्कालका लागि अनसन स्थगित गरेका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका विषयमा भएको सम्झौता कार्यावयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ । त्यस्तै प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्‍याउन निर्माण कार्यलाई तीव्रता दिने प्रतिवद्धता पनि प्रधानमन्त्रीबाट भएको छ ।

चिकित्सा शिक्षा ऐनमा संशोधन लगायतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाले सत्याग्रहको कार्यक्रम स्थगित गरिएको डा. केसीले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।