कति सांसद रहे अब माधव नेपालसँग ?

कति सांसद रहे अब माधव नेपालसँग ?



काठमाडाैं । माधव नेपालले दर्ता गरेको नेकपा एमाले (समाजवादी) पार्टीमा एमाले एकताका पक्षमा पहल हुदै गर्दा साथ दिने धेरैले सहयोग गरेनन् । ९५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेका नेपालको पार्टीमा एमालेले कार्वाही गरेका १४ मध्ये ले मात्र केन्द्रीय सदस्यको हैसियत पाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्वाहीमा परेका १४ भाइ मध्ये नेपाल स्वयं¸ मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, बिरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, सरलाकुमारी यादव, कल्याणी खड्का र निरुदेवी जैशी मात्र केन्द्रीय सदस्य बनेका हुन् । भवानी खापुङ, कृष्णलाल महर्जन, पुष्पा कर्ण, कलिला खातुन र लक्ष्मी चौधरी केन्द्रीय सदस्य बनाइएनन् । एमाले कार्वाहीमा नपरेका साँंसदहरु झलनाथ खनाल र प्रेमबहादुर आले भने केन्द्रीय समितिमा छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने तर त्यस अघिसम्म ओलीको पक्षमा रहेका मध्ये प्रेम आले मात्र माधवको पक्षमा उभिए । बिश्वासको मतका बेला तटस्थ बस्नेहरु कोही पनि माधवका पक्षमा उभिएनन् ।

अब माधव नेपाललाई कति सांसदले साथ दिन्छन् भन्ने प्रष्ट छैन । हुन त माधव नेपालले केन्द्रीय सदस्यका आधारमा नयाँ पार्टी गठन गरेका छन्, प्रतिनिधिसधा सदस्यका आधारमा होइन । माधवसँग एमालेमा रहेका ५८ केन्द्रीय सदस्य आएको बताइएको छ । यो संख्या केपी ओलीले निर्वाचन आयोगमा मंगलवार अद्यावधिक गरेको भनिएका २६० सदस्य कायम रहँदा पनि २० प्रतिशत भन्दा बढी हो । त्यसैले माधव नेपाललाई पार्टीको मान्यता पाउन कठीन छैन ।

तर प्रतिनिधिसभाका कति सदस्य माधवसँग रहन्छन् भन्ने प्रष्ट छैन । अध्यादेश अनुसार, पार्टी मान्यता पछि २१ दिनभित्र पार्टी रोज्न पाउने अधिकार भएकाले अहिले देखिएका १६ जनामा माधवका सांसद सीमित होलान् वा अरु बढ्लान् भन्न सहज छैन । कार्वाहीमा परेका १४ का साथै झलनाथ खनाल र प्रेमबहादुर आले अहिले माधवका पक्षमा छन् ।