माधव समूहलाई छोडेर नेपालको पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

माधव समूहलाई छोडेर नेपालको पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य



काठमाडौं । माधव नेपाल पक्षकी नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् । उनले बुधबार अबेर बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ लिएकी हुन् । मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आजै सपथ ग्रहण लिएपछि मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् । बहुमत प्राप्त दलको नेता शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए । उनलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्रीले नै राखेकी छिन् ।