एमाले समाजवादीको सनाखत हुनसाथ मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

एमाले समाजवादीको सनाखत हुनसाथ मन्त्रिपरिषद् विस्तार : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एमाले (समाजवादी) दर्ता हुनसाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

एमाले नेता माधवकुमार नेपालले बुधबार मात्रै एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर, राजनीतिक दलसम्बनी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र प्रचण्डबीच भएको छलफलमा यस्तो समझदारी भएको प्रचण्डले खुलासा गरेका हुन् ।

“हिजोबाट नयाँ परिस्थिति बनेको छ । आज बिहान हामी तीनजना प्रधामन्त्री देउवाजी, माधवजी र म बसेका थियौँ । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्ने अवस्था छैन भन्ने बुझाइमा हामी पुगेका छौँ,” उनले भने,“नयाँ पार्टीको जहिले सनाखत हुन्छ त्यही दिन मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी हामीबीच भएको छ ।

केही दिनमै माधव नेपाल नेतृत्वको नयाँ दलको सनाखत प्रक्रिया हुने र लगत्तै सरकार विस्तारले पनि पूर्णता पाउने उनको दाबी छ ।