माधव र महन्थलाई नयाँ दल दर्ता प्रमाणपत्र १० दिनभित्र

माधव र महन्थलाई नयाँ दल दर्ता प्रमाणपत्र १० दिनभित्र



काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको छ ।

निर्वाचन आयोगले अध्यादेशअनुसार नियमावली नबनेको भन्दै दर्ता प्रक्रिया अघाडि बढाएको थिएन । कानुनमा ४५ दिनभित्र दल दर्ताको प्रमाणपत्र दिनुपर्ने व्यवस्था भए पनि १० दिनभित्रै सबै प्रकृया टुंग्याउने तयारी निर्वाचन आयोगले गरेको बुझिएको छ ।

गत बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली पनि संशोधन गरिएपछि माधव नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदन अघि बढाउन बाटो खुलेको हो ।

संशोधित नियमावली हिजो साँझ नै राजपत्रमा प्रकाशित भएसँगै आयोगलाई दल दर्ताको प्रक्रिया अघि बढाउन सहज भएको हो । माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामको दल दर्ताका लागि बुधबार निवेदन दिएका थिए ।