काङ्ग्रेस महाधिवेशनः अन्तिमपटक संशोधित कार्यतालिका पनि प्रभावित, क्रियाशील सदस्यता विवाद सहमति नजिक

काङ्ग्रेस महाधिवेशनः अन्तिमपटक संशोधित कार्यतालिका पनि प्रभावित, क्रियाशील सदस्यता विवाद सहमति नजिक



काठमाडौं । अन्तिमपटक संशोधित कार्यतालिका पनि प्रभावित भइसकेपछि नेपाली काङ्ग्रेस १४औं महाधिवेशनकालागि क्रियाशील सदस्यतामा देखिएको विवाद सहमति नजिक पुगेको छ । लामो रस्साकस्सीकाबीच पनि क्रियाशिल सदस्यता विवाद नमिलेर अन्तिमपटक संशोधित कार्यतालिका प्रभावित भएकाे हाे । यस अघि भदौ २ गतेसम्म क्रियाशील सदस्यता विवाद टुंग्याएर भदौ ३ मा सभापति शेरबहादुर देउवालाई बुझाउने कांग्रेस केन्द्रीय समितिको निर्णय भएको थियो ।

कार्यदलमा क्रियाशील सदस्यताको पुरानो संख्याभन्दा कम हुने गरी वडा तहमा समायोजनलाई मान्ने समझदारी भएको छ । कतिपय वडामा पुरानाभन्दा समायोजनबाट आउनेको संख्या बढि भएको भन्दै विवाद सिर्जना भएको थियो ।

कार्यतालिका प्रभावित नहुनेगरी काम हुन नसकेपनि क्रियाशिल सदस्यता विवादमा केहि ढिलो गरी सहमतिनजिक पुगेको क्रियाशील सदस्यता छानविन समिति सदस्य रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताएका छन् । काङ्ग्रेसले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिएको थियो ।

सदस्यतामा सहमति जुटाएर भोलिसम्म सभापति देउवालाई बुझाउने तयारी रहेको कार्यदलका एक सदस्यले बताएका छन् । उनले भने– ‘अब ढिलो नगरी आजनै सहमति जुटाएर सदस्यता विवाद टुंग्याउन अन्तिम चरणमा पुगेका छौं । अहिले पनि हामी छलफलमै छाैं ।’

हिजो बसेको कार्यदलकाे बैठकले सदस्यता विवाद सुल्झाउन नयाँ मापदण्डमा सहमति जुटाएको बताइएकाे छ । कार्यदलमा क्रियाशील सदस्यताको पुरानो संख्याभन्दा कम हुने गरी वडा तहमा समायोजनलाई मान्ने समझदारी भएको छ । कतिपय वडामा पुरानाभन्दा समायोजनबाट आउनेको संख्या बढि भएको भन्दै विवाद सिर्जना भएको थियो । सदस्यता छानविन समिति सदस्य रहेका प्रदिप पौडेल, आनन्द ढुंगाना र जीवन परियारले कार्यदलमा भएको सहमति कार्यान्वयनको विषयमा सहजीकरण गरिरहेका छन् ।

१४औं महाधिवेशनको नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका भदौ २ गते बुझाइने तोकिएको थियो । जुन क्रियाशिल सदस्यता विवादकै कारण प्रभावित बनेको छ । कार्यदलका अनुसार घर्किएकाे त्याे मिति भदाै ५ अर्थात् भाेलिसम्म भेट्याउने सम्भावना रहेकाे छ । यसैगरी भदौ १८ गते वडा अधिवेशन सुरु हुने कार्यतालिका छ भने गाउँ र नगरपालिका अधिवेशन भदौ २७ गतेलाई तोकिएको छ ।

यसैगरी असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ भने असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ । जिल्ला अधिवेशन असोज १० गतेका लागि तोकिएको छ । कार्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन मंसिर ९देखि १३ गतेसम्म आयोजना हुने कार्यतालिका छ ।