नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग



काठमाडौं । नेपाली काँग्रेस संस्थापनइतर जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण निष्पक्ष र पारदर्शी बनाउन माग गरेका छन् । यदि पारदर्शी नभए भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनशन सुरु गर्ने बताएका छन् ।

हिजो शनिबार राजधानीमा उपलब्ध जिल्ला सभापतिहरूको बैठकले आफ्ना माग सम्बोधनका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ दिनको अल्टिमेटम समेत दिएका छन् । सभापतिलाई सम्बोधन गरेर इमेलमार्फत पठाइएको पत्रमा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको, पारदर्शिता नअपनाइएको र ७७ वटै जिल्लामा सभापतिहरूको एउटै प्रक्रियाबाट चुनाव हुनुपर्नेमा त्यसो नगरिएको जनाएका छन् ।

‘वडा तहमा निर्णय भई आएका नाम हटाउने, ठाडै केन्द्रबाट जथाभाबी नाम थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नाम इन्ट्री गर्नेजस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौँ,’ जिल्ला सभापतिहरूले बुझाएको पत्रमा उल्लेख छ ।