कांग्रेस क्रियाशील सदस्यता विवाद के भयो ?

कांग्रेस क्रियाशील सदस्यता विवाद के भयो ?



काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गरिएको थियो, तर आइतबार अबेरसम्म त्यस विषयको प्रगति सार्वजनिक भएको छैन । क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान भएको दाबी गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेपछि विवाद समाधान भएको समितिमा रहेका नेताहरुले बताएका थिए । आज आइतबार साँझसम्ममा सभापति देउवालाई सहमतिको प्रतिवेदन बुझाइने बताइएको थियो । १४औं महाधिवेशनको तालिका प्रभावित नहुने गरी सहमति गरिएको बताइएको थियो ।

बारा, सप्तरीलगायत छ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । यसअघि रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता विवाद समाधान गर्न गठित समितिले देशभरका १५० भन्दा बढी वडामा देखिएको विवादमा १३औं महाधिवेशनको क्रियाशील सदस्यतालाई आधार मान्ने गरी मिलाएको थियो ।

तर बारा र सप्तरी लगायतका जिल्लामा देखिएको विवाद मिलाउन नेतात्रयलाई जिम्मा दिइएको थियो । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसीर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ । सो कार्यतालिका प्रभावित हुन नदिन भदौ १८ देखि वडाको अधिवेशन गर्नुपर्ने हुन्छ ।