काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ ।
काठमाडौं उपत्यकाका तीनै सहरका टोलटोलमा गाईजात्राको अवसरमा प्रदर्शन गरिने विभिन्न नाँच तथा प्रहसनको तयारी भइरहेकाे छ । विगतमा दिवङ्गत भएकाको आफन्तजनले यिनै जात्रामा सहभागीलाई ३६५ थरीका फलफूल, परिकार, मिठाई, दूधदही दान गरेर दिवङ्गत आफन्तको स्मृति गरिन्छ ।
गाईजात्रा परम्पराको सुरुआत मल्लकालमा भएको मानिन्छ । यसले शोकमग्न बनेकी रानी अनन्तप्रियाको मन बहलाउन जति प्रयास गर्दा पनि नसकेपछि राजाले हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका हुन्छन् भन्ने देखाउन ‘गाईजात्रा’ आरम्भ गरेको इतिहास छ ।
ऐतिहासिक तथ्यका अनुसार काठमाडौँमा त्यतिबेला बाहुल्यता रहेको गाईपालक समुदाय (सालह्यु)लाई मानिस मरेका घरबाट गाई सिँगारेर दरबारमा ल्याउनू भनी अह्राइयो । झाँकी निस्किएको र त्यसले कालान्तरमा जात्राको स्वरूप लिएको इतिहासमा वर्णित छ । अचेल तेस्रोलिङ्गी समुदायले पनि यौनकुण्ठा, यौनचाह, खुलापन लगायतको हाउभाउ प्रदर्शन गर्दै गाईजात्रा बनाउन थालेका छन् । काठमाडौँको थने भनिने ठहिँटी र कोने भनिने कोहिटी क्षेत्र हुँदै तत्कालीन प्रताप मल्लको हनुमानढोका दरबार परिक्रमा गराउने गरिन्छ ।
काठमाडौं उपत्यकाका तीनवटै भित्री सहरलगायत नेवार समुदायको बाहुल्य रहेको जिल्लाका अन्य सहरमा गाईजात्रा मनाउने गरिन्छ । एक वर्षअघिदेखि दिवंगत भएका आफन्तको सम्झनामा गाईलाई सिँगारेर सहर घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् ।
गाईजात्रामा प्रदर्शनका लागि विभिन्न प्याखं (नाँच) को तयारी टोलटोलमा भइरहेको छ । गाईजात्राका क्रममा यहाँ विविध नाच देखाइन्छ । यहाँ देवी प्याखँ, भैल प्याखँ, माक प्याखँ, गाइँचा प्याखँ, लुसी प्याखँ, फाकंदली प्याखँ, नागाचा प्याखँ देखाइने प्रचलन छ । लाखे प्याखँ, नटु वाचा प्याखँ, कंलाली प्याखँ, जंगली प्याखँ, भालु प्याखँ, खिचा प्याखँ, ख्या प्याखँ, कवाँचा प्याखँलगायत देखाउने प्रचलन रहेको छ । काेराेनाबाट जाेगिन मापदण्ड पालना गर्दै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलाँ प्याखँ, झ्या प्याखँको पनि तयारी भइरहेको गाईजात्रा मेला आयोजकहरूले बताएका छन् ।
गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौँ नाच, प्रहसनआदि प्रदर्शन गर्ने प्रचलन रहँदै आएको छ । गाईजात्राको अघिल्लो दिन जनैपूर्णिमादेखि आठ रात नौ दिनसम्म गाईजात्रा मनाइन्छ । भक्तपुरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाउने क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने चलन रहेकाे छ। गाईजात्राका लागि गठामुंग पर्व सकिएलगत्तै टोलटोलमा तयारी सुरु हुने गर्छ । जनैपूर्णिमादेखि सुरु हुने गाईजात्रा कृष्णाष्टमीको अघिल्लो दिनसम्म प्रदर्शन हुने गर्दछ । गाईजात्राका दिन अर्थात् आज यहाँ विशेष नाच घिन्ताङघिसी प्रदर्शन गरिन्छ । जुन नाँच भक्तपुरको मौलिक रूपमा रहेको छ ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कूरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, संखुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्की, गुल्मी, पाल्पा लगायत जिल्लाका शहरमा पनि मनाइन्छ ।
प्रतिक्रिया