एमालेको बैठक बहिस्कारकैबीच लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

एमालेको बैठक बहिस्कारकैबीच लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ४२ र विपक्षमा ० मत खस्यो । सोमबार उपस्थित ४३ सांसदमध्ये एक सांसद तटस्थ बसे । उक्त मत प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको हिसाबले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

मुख्यमन्त्री केसीले विश्वासको मत पाउन ४१ सांसदको समर्थन आवश्यक थियो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सांसद रहेका छन् । केसी साउन २८ गते ४२ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री केसीले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ । सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले बैठक बहिष्कार गरेको हो ।