लामो रस्साकस्सीबीच काङ्ग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद, महाधिवेशन तोकिएकै तालिकाअनुसार सुनिश्चित

लामो रस्साकस्सीबीच काङ्ग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद, महाधिवेशन तोकिएकै तालिकाअनुसार सुनिश्चित



काठमाडौं । १४औं महाधिवेशनको तोकिएको मिति धेरै पटक प्रभावित हुनेगरी भएको रस्साकस्सीपछि नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । काङ्ग्रेसको मुख्य जरो क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएको थियो । अन्ततः विवाद मिलाउन बैठक स्थल फेरिए, विवादका कारणनै फेरिए र पनि सोमबार जुट्यो नेताहरुबीच सहमति ।

सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । देउवालाई प्रतिवेदन बुझाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उपस्थित थिए । देउवा निवास बुढानीलकण्ठमा प्रतिवेदन बुझ्दै सभापति देउवाले निर्धारित मिति भन्दा महाधिवेशन तलमाथी नहुने बताएका छन् ।

नेता रमेश लेखकले ग्लोब नेपालसंग भने –‘अब क्रियाशील सदस्यतासम्बन्धी सबै विवाद मिल्यो, यसले पछिल्लाे पटक ताेकिएकाे मितिमा महाधिवेशन हुने सुनिश्चित गरेको छ ।’

काङ्ग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको छ । स्थानीय अधिवेशन सुरु हुन ११ दिन बाँकी रहँदा नेताहरुले क्रियाशील सदस्यता विवाद टुंग्याएका हुन् ।

गाउँ र नगरपालिका अधिवेशन भदौ २७ गतेलाई तोकिएको छ । यसैगरी असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ भने असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ । जिल्ला अधिवेशन असोज १० गतेका लागि तोकिएको छ । कार्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन मंसिर ९देखि १३ गतेसम्म आयोजना हुने कार्यतालिका छ । अधिवेशनका लागि निर्वाचन समितिले पनि काम शुरु गरिसकेको छ ।