तेस्रो धारका नेतासहित एमाले बैठक बस्दै

तेस्रो धारका नेतासहित एमाले बैठक बस्दै



काठमाडौं, ८ भदौ । आज बिहान ११ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै ३ बजेकालागि सरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो । मंगलबार बस्ने स्थायी कमिटी बैठकमा सोमबार तेस्रो धारका ९ जना एमाले नेताहरूसँग भएको सहमति अनुमोदनको एजेन्डा छ ।

बैठकले एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न प्रक्रिया अघि बढाउने, दल विभाजन नगर्न अनुरोध गर्ने र केन्द्रीय कमिटी बैठकको मिति तोकिने सम्भावना छ । माधवकुमार नेपालसहितका नेताहरु पार्टीबाट अलग्गिएर नयाँ पार्टी गठनको प्रक्रियामा गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो धारका नेताहरुसँग सहमति गर्ने बारेमा नरम देखिएका छन् ।

हिजो एकता पक्षधर नेताहरूबीचमा भएको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्नेबारेमा सैद्धान्तिक सहमति भएको छ । १० बुँदे अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । १० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोल सम्मका सम्पूर्ण कमिटी क्रियाशील हुने छन् ।