नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने

नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने




काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । चन्द्रगिरिमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधानअनुसार अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन् । उनीहरुसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुनेछन् ।

केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु भने राष्ट्रिय परिषदबाट चुन्ने प्रस्तावित विधानमा उल्लेख छ । हरेक ५ वर्षमा हुने महाधिवेशले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्नेछ । परिषदमा हरेक जिल्लाबाट प्रतिनिधिसभा क्षेत्र बराबर, एक महिला तथा एक दलित हुनेछन् ।

पार्टीको जनसंगठनबाट एक–एक जना तथा महिला, युवा र विद्यार्थी संगठनबाट तीन–तीन जना, अन्य जनसंगठनबाट एक–एक जना, प्रदेश सम्पर्क कमिटीबाट एक–एक जना र खुला १०० जना राष्ट्रिय परिषद्का सदस्यहरु महाधिवेशनबाट चयन गर्ने प्रस्तावित विधानमा उल्लेख छ ।

राष्ट्रिय परिषद्का सदस्यहरुले केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्नेछ । पार्टीको अध्यक्ष र पदाधिकारीहरु पनि राष्ट्रिय परिषद्बाट चुनिनेछ ।

यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीका ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरुको काठमाडौँ चन्द्रागिरिमा भएको पार्टीको पहिलो बैठकले घोषणा पत्र र नियमावली जारी गरेको छ ।

घोषणा पत्रको प्रस्तावनामा जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने उल्लेख छ । मार्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त मानिएको छ ।

घोषणा पत्रमा मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवि वर्गको मुक्ति एवम् समाज रिपवर्तनको मार्गदर्शक सिद्धान्त हुने भनिएको छ । मार्क्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त रहेको उल्लेख गरिएको छ ।