एमाले विभाजनसँगै देउवा नेतृत्वको सरकार सुविधाजनक बहुमतमा

एमाले विभाजनसँगै देउवा नेतृत्वको सरकार सुविधाजनक बहुमतमा



काठमाडौं । माधवकुमार नेपालले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) बनाएसँगै सत्ता गठबन्धनलाई सुविधाजनक बहुमत पुगेको छ । नेपालसँग प्रतिनिधिसभाका २३ जना सांसद छन्। एमालेमै रहेको अवस्थामा नेपाल पक्षका २२ जनाले शेरबहादुर देउवालाई बहुमत पुर्‍याइदिएका थिए। अब प्रतिनिधिसभामा सत्ता गठबन्धनसँग कांग्रेसको ६३, माओवादीको ४९, एकीकृत समाजवादीको २३ र जसपाको २१ सहित १५६ सांसद पुगेका छन्।

यसमा कांग्रेसका विजयकुमार गच्छदार, मोहम्मद अफ्ताव आलम र जसपाका हरिनाराण रौनियार निलम्बित अवस्थामा छन्। विभाजन हुनुअघि महन्थ ठाकुर पक्षले पनि विश्वासको मत लिँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेकाले लोकतान्त्रिक समाजवादीका १३ जना सांसद पनि सरकारकै पक्षमा रहेको बुझ्न सकिन्छ।

लोकतान्त्रिक समाजवादीमा रहेका रेशम चौधरी पनि निलम्बित अवस्थामा छन्। यस हिसाबले अब निलम्बितसहित गरी सत्ता गठबन्धनसँग १६९ जना सांसद पुगेका छन् । सामान्य बहुमतका लागि १३६ जना सांसद आवयश्यक पर्छ। विभाजन भएपछि अब प्रमुख प्रतिपक्ष दल एमालेसँग ९८ जना मात्रै सांसद रहेका छन्। नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी संसदको चौथो दल बनेको छ ।

निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिएर दल दर्ता भएको जानकारी संसदमा जानकारी गराएपछि औपचारिक रुपमै एकीकृत समाजवादी चौथो ठूलो दल हुनेछ । एमालेका प्रतिनिधिसभाका २५ र राष्ट्रियसभाका आठ गरी ३३ जना सांसद नयाँ पार्टीका पक्षमा उभिएपछि नयाँ दल चौथो ठूलो हुनेछ । यसअघि जनता समाजवादी पार्टी चौथो ठूलो दल थियो ।