कानुन आयोगमा जागेश्वर, जयसिंहका परिवारलाई १० लाख रुपैयाँ

कानुन आयोगमा जागेश्वर, जयसिंहका परिवारलाई १० लाख रुपैयाँ




काठमाडौं । सरकारले नेपाल कानुन आयोगका अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सिंह सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सलोनि प्रधान सिंह नियुक्त भएका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्ति गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ
दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । १५ साउनमा महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म फेला परेका छैनन् । उनको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।