पौडेलको दोहोरो चरित्रले संस्थापन पक्ष हैरान !

पौडेलको दोहोरो चरित्रले संस्थापन पक्ष हैरान !



काठमाडौं । भदौ १८ गतेका लागि तय गरिएको वडा तहको अधिवेशनको तयारीमा जुट्नु पर्ने कांग्रेसका जिल्ला सभापतिहरू आफ्नो कर्तव्य चटक्कै भुलेर अहिले ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा रिले अनसनमा बसिरहेका छन् ।

गुटका प्रतिनिधि डा. मिनेन्द्र रिलाल समेत रहेको कार्यदलले सहमतिमा बुझाएको क्रियाशील सदस्यताको अन्तिम प्रतिवेदन आफ्नै हातले बुझेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समर्थक जिल्ला सभापतिहरूलाई त्यही सूची सार्वजनिक गर्न माग गर्दै आन्दोलनमा उतारेका छन् ।

पौडेलको दोहोरो चरित्रले १४औं महाधिवेशन भाड्न उनी आफैँ उद्दत भएका त होइन भन्ने भान परेको संस्थापन पक्षका नेता मीन विश्वकर्मा बताए ।

तोकिएको दिन वडा अधिवेशन सुरु भएन भने मंसिर ९ देखि हुने भनिएको कांग्रेसको १४औं महाधिवेशन प्रभावित हुनेछ । क्रियाशील सदस्यताको किचलो कायम रहने हो भने महाधिवेशन असम्भव हुने देखिन्छ ।

तर, तल्लो तहको महाधिवेशनको तयारीमा जुट्न पर्ने जिल्ला सभापतिहरू क्रियाशील सदस्यता वितरण निष्पक्ष नभएको आशंका पाल्दै जिम्मेवारी बहनप्रति संवेदनशील नदेखिएको तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने बताए ।

आन्दोलनकारी जिल्ला सभापतिहरूको आन्दोलनलाई मलजल गर्ने काम पार्टीका वरिष्ठ नेता पौडेलबाट भइरहेको छ ।

विभिन्न बहाना झिकेर किचकिच गर्ने पौडेल खेमाको रणनीतिबाट संस्थापन पक्ष वाक्कदिक्क भइसकेको छ । अब पार्टी सभापति शेरबहादुर देउवा पक्ष पनि पेलेरै प्रक्रिया अगाडि लाने रणनीतिमा छ । क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न पौडेल पक्षले नै रोकेर दोहोरो चरित्र देखाएको संस्थापन पक्षका नेता मीन विश्वकर्मा बताउँछन् ।

पार्टीका शीर्ष नेताले दोहोरो चरित्र छोडेर व्यवहारिक हुने हो भने कांग्रेस महाधिवेशन समयमै सम्पन्न हुनसक्छ । महाधिवेशन प्रभावित बनाउने नियोजित खेलहरूले निरन्तरता पाइरहने हो भने महाधिवेशन तोकिएको मितिमा हुनेमा आशंका हुनु स्वाभाविक हो ।

कथंकदाचित भदौ १८ को वडा तहको महाधिवेशन रोकियो भने भदौ २३ गतेपछि कांग्रेसका सबै तहका कमिटीहरू अवैध हुने तर्क गरिरहेका नेताहरूप्रति पनि नैतिकताको प्रश्न तेर्सिने निश्चित छ ।