यसरी धरापमा पर्दैछ अष्टलक्ष्मी र भीमको मुख्यमन्त्री पद

यसरी धरापमा पर्दैछ अष्टलक्ष्मी र भीमको मुख्यमन्त्री पद



काठमाडौं । नेकपा एमाले विभाजनको असर प्रदेश १ र बागमती प्रदेश सरकारमा प्रष्ट देखियो । एमाले औपचारिकरुपले विभाजन हुनुभन्दा आगडि नैं बागमती प्रदेशमा डोरमणी पौडेलले राजिनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइयो । त्यसैको नक्कल गरेर प्रदेश १ मा पनि शेरधन राईले भीम आचार्यलाई मुख्यमन्त्री बनाए ।

सपथ लिएलगत्तै आचार्यले पहिलो प्राथमिकताका रुपमा बहुमत जोगाउनु रहेको सन्देश दिए । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेसँग ५२ सांसद छन् ।

अब कति जना सांसद नेकपा एकीकृत समाजवादीमा जाने हो यकिन छैन । समाजवादीले १३ जनाको आफ्नो पक्षको सांसद भएको दाबी गरिरहेको छ । तर, ६ जना भन्दा बढी सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्ने निश्चित छ ।

एक सय नौ सदस्य रहेको बागमती प्रदेश सभामा अहिले विपक्षी दल माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना र एकजना स्वतन्त्र सांसद छन् । यस्तै, अन्य दलमा विवेकशील साझा र नेमकिपाका तीन–तीनजना र राप्रपाका दुईजना सांसद छन् । सत्तारुढ एमाले भने ५६ सांसदसहित एकल बहुमतमा छ ।

पहिले ५७ जना सांसद रहेकोमा एकजना पशुपति चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ । बहुमतका लागि बागमती प्रदेश सभामा ५५ जना सांसद भए पुग्छ । पार्टीभित्रको विवाद समाधान नभएको खण्डमा नेपाल समूहमा रहेका २३ जना सांसदले अष्टलक्ष्मीविरुद्ध विपक्षी गठबन्धनले ल्याउने अविश्वास प्रस्तावमा सहयोग गर्ने सम्भावना छ ।