देशैभरका वडामा एकै दिन अधिवेशन हुनुपर्ने पौडेल समूहको माग

देशैभरका वडामा एकै दिन अधिवेशन हुनुपर्ने पौडेल समूहको माग



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले देशैभरका वडामा एकै दिन अधिवेशन हुनुपर्ने माग अघि सारेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताको बैठकले ६ हजार ७ सय ४३ वटै वडामा एकै दिन अधिवेशन हुनुपर्ने माग अघि सारेको हो ।

जिल्ला सभापतिले उठाएका माग सम्बोधनपछि मात्रै एकैदिन अधिवेशन हुने वातावरण सुनिश्चित हुने भन्दै पहिले ती समस्या समाधान गर्न पौडेल समूहले सभापतिको ध्यानाकर्षण गराएको छ ।

बैठकपछि कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले भदौ १८ मा वडा अधिवेशन गर्न व्यावहारिक कठिनाई रहेको र त्यसको समाधान गरी अधिवेशन सुनिश्चित गराउन माग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

विभिन्न तीन बुँदे माग राखेर जिल्ला सभापति बुधबारदेखि कांग्रेस मुख्यालयमा रिले अनसनमा छन् । क्रियाशील सदस्य नामावली सार्वजनिक गर्नुपर्ने र त्यसमा सच्याउने समय दिनुपर्ने, जिल्ला सभापतिको उम्मेदवार बन्न तोकिएको फरक–फरक मापदण्डलाई एकरूपता दिनुपर्ने उनीहरुको माग छ ।

जिल्ला सभापतिको माग सम्बोधन नगरी ३८ जिल्लाको मात्रै क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेर निर्वाचन प्रक्रिया अघि बढाएपछि पौडेल समूहले भदौ १८ गते ७७ वटै जिल्लामा एकैपटक वडा अधिवेशन हुनेमा आशंका व्यक्त गरेको छ । पौडेल समूहले क्रियाशील सदस्यता छिटो सार्वजनिक गर्न माग गर्दै आएको छ ।

कांग्रेसको १४ औ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने गरी तोकिएको छ । कार्यतालिका अनुसार गाउँ र नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गतेका लागि तोकिएको छ ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ ।